काठमाडौं महानगरपालिकाले झन्डै १ करोड ४७ लाख रुपैयाँमा 'इन्द्र सभा' पुनर्निर्माण गरेको छ।
महानगरको १९ वडामा पर्ने उक्त सभा १ करोड ४६ लाख ५९ हजार खर्च गरी पुनर्निर्माण गरिएको सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यले जानकारी दिए।
उनका अनुसार दुई रोपनी ३ पैसा जग्गामा इन्द्र सभा परिसर बनाइएको हो।
'७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ,' उनले भने, 'पुनर्निर्माणका क्रममा २ वटा ठूला प्रवेशद्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण गरिएको छ।'
भुइँमा इँटा, ढुंगा बिछ्याएर आकासे पानी संकलन र पुनःभरण प्रणाली जडान लगायत काम समेत भएको उनले बताए।
पुनर्निर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिनमा अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले बताए।
यस क्षेत्रमा नेवाः समुदायका विभिन्न थरका कुल देवता अर्थात् दिगु द्यः छन्। ती दिगु द्यः कुनै पूर्व, कुनै पश्चिम, कुनै उत्तर र कुनै दक्षिण दिशातिर फर्किएका छन्। महर्जन, मानन्धर, तुलाधर र शाक्य समुदायका मानिसहरू यहाँ कुल देवताको पूजा गर्न आउने अध्यक्ष श्रेष्ठको भनाइ छ।
वडा १९ का सदस्य चन्द्रमान डंगोलका अनुसार प्रत्येक वर्ष दसैंको नवरथ जाने समयमा नवमीको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। मेलामा सहभागी हुने श्रद्धालुहरू कंकेश्वरी पीठको दर्शन गरेर तलेजु भवानीको दर्शन गर्न जाने चलन छ। त्यसै शिवरात्रीका दिनमा होम गर्ने, श्रीपञ्चमीका दिनमा सरस्वती (ससुद्यः) को पूजा गर्ने चलन समेत छ।