सशस्त्र प्रहरी बलले मकवानपुरबाट भन्सार छलीका तीन ट्रक जुत्ता नियन्त्रणमा लिएको छ।
हेटौंडा उपमहानगरपलिका-१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट गत शुक्रबार विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्ता रहेको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अमेरिकी डलर ४ लाख ८८ हजार १७३ (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ) मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा लिएको हो।
ती ट्रकमा लोड गरिएका जुत्ताका बिल बिजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।