शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरेको छ।
सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरिएको हो।
आजदेखि लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरू हुनु प्रशंसनीय भएको बताए।
उनले अबदेखि विद्यार्थीहरूले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए।
उनले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहे पनि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए।
उनले भने, ‘नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैंले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने, आफैंले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको सुरूआत भइसकेपछि विस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ।’
यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ। शिक्षा मन्त्रालयको रेकर्डमा ल्याउनुपर्ने आवश्यकता थियो, निर्देशिका जारी भएर त्यो परिस्थिति आएको पनि छ, कति विद्यार्थी गए भन्ने अध्ययन अभिलेख रहनेछ, गएका विद्यार्थीहरू कुन विश्वविद्यालयमा छन्, के छन् भन्ने अवस्थालाई ट्र्याक गरेर काम गर्ने विश्वास लिएको छु।’
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजदेखि फेसलेस, पेपरलेस र क्यासलेसको सुरूआत हुनु नेपालीहरूका लागि खुसीको कुरा भएको बताए।
उनले आफू नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानका रूपमा लागेको बताए।
उनले अब अन्य निकायहरूले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरू गर्नुपर्ने बताए।
उनले भने, ‘शिक्षा मन्त्रालयले सेवा प्रवाह गर्ने यो शाखा एनओसी शाखाबाट आजबाट हामीले फेसलेस, पेपरलेस र क्यासलेसको सुरूआत गरेका छौं। आज सुरूआती दिन हो, फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भनेर नै लागेको हुँ म, आज हामीले पूरा गरेका छौं। हाम्रो सोच भनेकै पूर्ण रूपमा पेपरलेस, क्यासलेस र फेसलेस बनाउनु नै हो। यो हाम्रो निकायबाट सुरू भएको छ, अन्य तहमा पनि यो हुनुपर्छ, केही समय लाग्छ त्यही अनुसार सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ।’
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ।