महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले स्याङ्जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई पक्राउ गरेको हो।
उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।
उनले एक महिलालाई सामाजिक सञ्जालबाट चिनजान गरेका थिए। कुराकानी गरी बैंकमा ऋण मिलाइदिन्छु भनेर भेटघाट गरी प्रलोभन समेत दिएको अनुसन्धानमा देखिएको छ।
कुराकानी गर्दै पीडितलाई माया गर्ने भनेर विश्वासमा पारेर सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिचेर भिडिओ समेत खिचेका थिए।पछि आफूले बोलाउँदा नमानेपछि उनले तस्बिर, भिडिओ देखाएर हैरानी दिएको आरोप छ।
त्यस्तै, उनले ती तस्बिर र भिडिओहरू पीडित महिला, आफन्त एवं साथी भाइलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
यससम्बन्धी उजुरी परेपछि प्रहरीले शर्मालाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ।