पाँच नेपाली सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान २०१३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ टोलीमा संलग्न दस जनाले सगरमाथाको आरोहण गरेका छन्।
प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा सह सेनानी विष्णुबल राई, सह सेनानी दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको सैनिक टोली सोमबार १० बजेर ५ मिनेट सगरमाथाको चुचुरोमा पुगेका हुन्।
उनीहरूसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन्। यसअघि २०८० वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।
चैत १४ गते सफाइ अभियानमा गएको टोलीले ३२ हजार ३ सय ११ किलो फोहोर संकलन गरेको छ।
अभियानअन्तर्गत करिब ३५ हजार फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ। सेनाका अनुसार विश्व वातावरण दिवसको दिनसम्म अर्थात् जेठ २३ गतेसम्म यो अभियान रहनेछ।