प्रहरीले ललितपुरबाट गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।
उनका अनुसार ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो। सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ।