प्राचीन तथा ऐतिहासिक महत्व बोकेको दोलखास्थित चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।
सो धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्याउने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले यही जेठ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको उद्घाटन संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरूङले गर्ने बताए।
महायज्ञको पुराण कथा बाचन भने प्राध्यापक डाक्टर कान्ता भट्टराईले गर्नेछन्।
संयोजक श्रेष्ठले भने, ‘प्राचीन एवम् पौराणिक महत्व बोकेको ऐतिहासिक जिल्ला दोलखाको शैलुङ–७ स्थित चरणावती त्रिवेणीधामलाई धार्मिक एवम् तीर्थाटनको क्षेत्रको रूपमा विकास र विस्तार गर्नुका साथै उक्त स्थानमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने महाअभियानका साथ श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ गर्न लागेको पत्रकारहरूलाई जानकारी गराउन चाहन्छु।’
महायज्ञका पाहुनाहरूलाई सो धाम नजिकै रहेको ज्येष्ठ नागरिक भवनमा बसोबासको व्यवस्था गरिने सो महायज्ञ मूल समारोह समितिका सदस्य सोभित उप्रेतीले बताए।