जापानमा सवारी दुर्घटनामा परी मृत्यु भएका दुई नेपाली विद्यार्थीको परिचय खुलेको छ।
ओखलढुंगा चिशंखुगढी गाउँपालिका -२ का २७ वर्षीय युवराज थापा र काभ्रे भुम्लु गाउँपालिका-९ का २२ वर्षीय नवराज तामाङको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।
जापान टाइम्सका अनुसार मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको थियो। उक्त बसमा प्राविधिक समस्या आएपछि रोकेर राखिएको थियो।
बसमा धुँवा आएपछि रोकेर मर्मत गर्न लागेको बेला ट्रकले ठक्कर दिँदा मृत्यु भएको युवराजका काका तोरणबहादुर थापाले बताए।
‘युवराजका साथीहरूले बस मर्मत गरिरहेकी चालकलाई लाइट देखाइरहेका थिए रे,ʼ उनले भने।
दुर्घटनामा परी बसकी चालकको पनि मृत्यु भएको छ।
युवराज जापान गएको जेठ २ गते एक वर्ष भयो। युवराज घरका एक्ला छोरा हुन्। उनी कक्षा १२ सम्म यही पढेर थप अध्ययनका लागि जापान गएको तोरणबहादुरले बताए।
चिशंखुगढी गाउँपालिका-२ वडाध्यक्ष नरेन्द्र बस्नेतका अनुसार गाउँकै युवाले युवराजको शव नेपाल ल्याउने प्रयास गरिरहेको बताए।
‘राम्रो पढ्ने मान्छे भएकाले उसँग धेरैको चिनजान थियो,ʼ उनले भने।
वडाले पनि यहाँबाट सक्ने सहयोग गरिरहेको उनले जानकारी दिए।
काभ्रेका नवराज तामाङ गत कात्तिकमा मात्र जापान गएको उनका दाइ दुर्गा तामाङले बताए।
‘नवराज चालकलाई सहयोग गर्न बसकै छेउमा उभिएको सुन्नमा आएको छ,ʼ उनले भने।
उनलाई नवराजका साथीहरूले फोन गरेर शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको बताएका छन्। उनले भाइको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिइसकेका छन्।