नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका दुई जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
गृह मन्त्रालयअन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।
अदालतले उनीहरूलाई आज र भोलिको मिति दिएको छ।
आइतबार पुन: पक्राउ परेका १६ जनालाई नै म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्नेछ।
चैत १२ गतेदेखि यस प्रकरणको अनुसन्धान सुरू भएको थियो।
संगठित अपराध कसुरमा ६० दिन प्राप्त हुने भएकाले प्रहरी र सरकारी वकिलसँग मुद्दा दर्ता गर्न केही दिनमात्रै समय बाँकी छ।
अन्य पक्राउ परेका सबैको बयान पनि भइसकेको छ। मियाँ र रिजालको बाँकी भएको पनि न्यौपानेले बताए। उनीहरूको बयान भोलि लिइने उनले बताए।
केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।