ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा शव गृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ।
शुक्रबार ललितपुर महानगरले शव गृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर रवि शाक्यलाई चेक हस्तान्तरण गरेका हुन्।
पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शव गृह विस्तारको लागि सहयोग गरेको चिरीबाबुले बताए।
पाटन अस्पतालका मेडिकल डाइरेक्टर शाक्यका अनुसार पाटन अस्पतालमा ४ वटा मात्रै शव राख्न मिल्ने शव गृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको छ।
‘अस्पतालकै, बाहिरबाट केही दिन राखिदिनुस् न भन्दै आउने अनुरोध र बेवारिसे शवले गर्दा अहिलेको शव गृह भरिभराउ भइरहेको छ,' उनले भने, 'शव खप्टेर राख्नुपर्ने बाध्यता छ। जुन वैज्ञानिक पनि होइन।’