कीर्तिपुरको प्यंगथाँमा स्थापना भएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बुंगमती लगिएको छ। यससँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद समाधान भएको छ।
कीर्तिपुर नगरपालिकाले बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ र ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद मिलेको हो।
मच्छिन्द्रनाथसँग बनाइएको याकःमिसाको मूर्ति भने निर्माणाधीन कीर्तिपुर संग्रहालयमा राखिने कीर्तिपुरका मेयर राजकुमार नकर्मीले बताए।
‘हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्न पटकपटक उहाँहरूसँग छलफल गरेका थियौं। अन्तिम क्षणमा लामो समयदेखि चल्दै आएको संस्कृतिलाई निरन्तरता दिने र संरक्षण गर्ने कुरामा सहमति भयो,’ उनले भने, ‘मच्छिन्द्रनाथको मन्दिर पनि बुंगमतीमै छ र ३२ पानेजुहरू आएर त्यसलाई बुंगमतीमै लैजाने भनेर लग्नुभएको छ। याकःमिसाको मूर्ति भने कीर्तिपुरमा नै रहनेछ।’
रातो मच्छिन्द्रनाथ अर्थात् ‘बुंगद्यः’ सँग जोडिएको एउटा परम्परालाई लिएर पाटनको बुंगमती र कीर्तिपुरको प्यंगथाँबीच करिब पाँच महिनादेखि विवाद थियो। यो विवाद कसरी उत्पन्न भएको थियो भन्नेबारेमा रातो मच्छिन्द्रनाथसँग जोडिएको एउटा कथा छ।

कथामा कीर्तिपुर, प्यंगथाँकी एक कन्या केटीको प्रसंग छ। कीर्तिपुरवासी ती कन्या केटीलाई मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मान्छन् र याकः मिसा (एक्ली केटी) का रूपमा पूजा गर्छन्।
याकः मिसा कसैगरी पनि मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वर निम्ति यो सम्भव हुँदैन। याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि उनी हरेक वर्ष भेट्न आउने बाचा गर्दै बुंगमती फर्कन्छन्।
आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउने र याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा छ। प्यंगथाँकी ७२ वर्षीया लक्ष्मीकुमारी महर्जनलाई ‘जीवित देवी’ याकः मिसाका रूपमा पूजा गरिन्छ।
प्यंगथाँ बहालमा एउटा मन्दिर छ, जहाँ केही समयअघिसम्म एउटा ठूलो ढुंगा र ढुंगाको सामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन। फूल–प्रसाद चढाउँदा मूलपुजारी ढुंगामाथि बस्ने र याकः मिसा मण्डपमा बस्ने परम्परा छ।
विवाद तब सुरू भयो, जब प्यंगथाँवासीले गत मंसिर १५ गते त्यही मन्दिरमा मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्ति र याकः मिसाको सानो मूर्ति स्थापना गरे।
अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन्।
उनीहरूले विगत पाँच महिनादेखि त्यो मूर्तिको पूजापाठसमेत गर्दै आएका थिए।
रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले भने कुनै हालतमा मूर्ति राख्न नदिने अडान लिएको थियो। मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त हुने भन्दै पुजारीहरूले मूर्ति नहटाए अर्को वर्ष मच्छिन्द्रनाथको जात्रामा फूल–प्रसाद लिएर नआउने चेतावनी दिएका थिए।
रातो मच्छिन्द्रनाथसँगको यो विवाद समाप्त भएसँगै पानेजु संघले शुक्रबार बिहान ९ बजेतिर कीर्तिपुरको प्यंगथाँमा याकः मिसालाई प्रसाद लिएर गएका छन्।
सबै तस्बिरहरू: रूजन महर्जन






