फेसबुक ह्याक गरी ठगेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
साइबर ब्युरोले एक जनालाई शुक्रबार पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्कका ३३ वर्षीय कपिल गहतराज छन्।
उनले एक व्यक्तिको फेसबुक ह्याक गरेका थिए। ह्याक गरेपछि पीडितका आफन्तहरूलाई मेसेज गरी रकम असुल गरेको एसपी रायले बताए। यसरी ठगी गरेको खुलेपछि पीडितले ब्युरोमा उजुरी गरेका थिए।
उनीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याएको हो।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३, कसुरमा अनुसन्धान अघि बढाएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार थप ४ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।