आफूले पढाउने स्कुलकी छात्रामाथि बलात्कार गरेको अभियोगपछि फरार भएका एक शिक्षक पक्राउ परेका छन्।
बलात्कार अभियोगमा शान्तिनगर गाउँपालिका– ७ घर भई स्थानीय शिवशक्ति मावि धनौरीमा पढाउँदै आएका ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल पक्राउ परेका हुन्।
उनीमाथि चैत २० गते बेलुकी सोही स्कुलको कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई सिँढीमुनि लगी बलात्कार गरेको अभियोग छ। तुलसीपुरकी ती पीडित छात्राले चैत २१ गते अभिभावकसहित इलाका प्रहरी कार्यालयमा पुगेर पौडेलविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। लगत्तै पौडेल फरार भएका थिए।
पौडेल भागेर भारत पुगेको सूचनापछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी नेपाल ल्याएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार पौडेललाई शनिबार इप्रका ल्याई बलात्कार सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको छ।
जिल्ला अदालतले पौडेललाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको डिएसपी मल्लले बताए।