बलात्कार आरोपमा पक्राउ परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
५५ वर्षीय पूर्व क्याम्पस प्रमुखसमेत रहेका गौतमले आइतबार दिउँसो जागिरको प्रलोभनमा पारी एक छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो।
लमही नगरपालिका वडा नं. ५ स्थित रातोडाँडामा विगत दुई वर्षदेखि कोठा भाडामा बसेर लमही–३ वनगाउँको एक टेक्निकल कलेजमा पढ्दै आएकी छात्रालाई घरमै बोलाएर क्याम्पस सञ्चालक समितिका कोषाध्यक्षसमेत रहेका गौतमले बलात्कार गरेको पीडितले किटानी जाहेरी दिएकी थिइन्।
आइतबार नै पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले लमही–५ रातोडाँडास्थित गौतमको घरबाटै उनलाई राति नियन्त्रणमा लिएको थियो।
प्रहरीले सोमबार गौतमलाई अदालत समक्ष म्याद थपका लागि पठाएकोमा पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
प्रहरीसमक्ष गौतमले घटना स्वीकार गरेको प्रहरी अधिकारीले बताएका छन्।
घटनाबारे थप सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
आइतबार नै पीडितको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जानकारी दिएको छ।