फेवातालको सिमसार क्षेत्र पुर्ने गिरोहलाई कारबाही गर्न नागरिक समाजले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग माग गरेका छन्।
पोखरा महानगरले जग्गा वर्गीकरणका क्रममा सिमसारलाई आवास क्षेत्रमा वर्गीकरण गरेर पुनः अनुमति दिन थालेपछि नागरिक समाजले प्रदेश सरकार गुहारेको हो।
फेवातालको माथिल्लो तटीय क्षेत्रमा रहेका डाँडा खारेर धमाधम सिमसार पुर्ने क्रम अहिले पनि जारी छ।
पोखरा महानगरको वडा नम्बर १८, २२, २३ र २४ मा पर्ने सिमसार क्षेत्र पुर्ने काम रोक्न पनि नागरिक समाजले ज्ञापन पत्रमार्फत माग गरेको छ।
ज्ञापनपत्रमा सिमसार पुर्ने क्रम तत्काल रोक्नुपर्ने र सिमसार पुर्ने गिरोहमाथि कारबाही गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचन र वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन्।
'एकातिर जथाभावी डाँडा खारेर प्राकृतिक सम्पदाको विनाश पारिँदैछ भने त्यहाँबाट निस्कने ढुंगा, माटो र ग्रेगरलाई फेवातालको सिमसार क्षेत्र पुरेर तालको धमनीका रूपमा रहेको सिमसार क्षेत्र पुर्नु फेवातालको आयु जबर्जस्ती घटाउनु मात्र नभई जघन्य अपराधसमेत हो भन्ने हाम्रो ठम्याइ छ,' ज्ञापनपत्रमा भनिएको छ।
डाँडामा डोजर लगाएर निस्केका ढुंगामाटो सिमसार प्रयोग गर्नु कानुन विपरीत भएको समेत ज्ञापनपत्रमा उल्लेख छ।
नागरिक समाजको ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले तत्काल सिमसार पुर्न मुख्यसचिवमार्फत निर्देशन दिएका छन्।
सम्बन्धित समाचार-
सिमसारलाई आवास क्षेत्रमा राखेर पुर्न अनुमति दिँदै पोखरा महानगर