गणतन्त्रले नेपालमा महिलाहरूलाई राष्ट्र प्रमुखसम्म बन्न मद्दत पुर्याएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छन्।
केही समय अघिसम्म परिकल्पना समेत नगरिएको कुरा अहिलेको गणतान्त्रिक समाजमा सम्भव भएको उनको भनाइ हो।
'कतिपय मानिसबाट गणतन्त्रले के दियो भन्ने प्रश्न उठ्न थालेको छ,' मन्त्री शर्माले भनेकी छन्, 'म थोरै पुराना कुरा सम्झन चाहन्छु। हामीले महिला आन्दोलन संगठीत गर्दा विभिन्न देशका महिला नेताको नाम लिएर नेपालमा त्यस्तै महिला नेता स्थापित गर्नुपर्छ भनेर प्रशिक्षित गर्थ्यौं। तर त्यो बेलामा नेपालमा महिला पनि राष्ट्र प्रमुख बन्न सक्छन् भनेर कल्पना गर्ने स्थिति थिएन। आज जन्मिने हरेक छोरीहरूले राष्ट्र प्रमुख, सभामुख, न्यायालय प्रमुख बन्ने सपना देख्न सक्छन्। यो गणतन्त्रको देन हो।'
महिलासँगै दलित, जनजाति, मधेशी, मुश्लिमलगायत हेपिएका र दबाइएका समुदायको उपस्थिति अहिले राजनीतिक र प्रशासनिक नेतृत्वमा बढिरहेको छ। यो पनि गणतन्त्रकै देन रहेको उनको भनाइ छ।
प्रवक्ता शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रुपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताएकी छन्।
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो 'रेडियो सगरमाथा'को २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले राजनीतिक र सञ्चार क्षेत्र दुवैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रुपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताएकी हुन्।
प्रविधिको विकाससँगै सूचना प्रवाह गर्ने माध्यमको संख्यामा वृद्धि हुँदै गए पनि रेडियोप्रतिको विश्वसनीयता कम नभएको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको प्रयोग बढाउँदै रेडियो प्रसारणको दायरा पनि वृद्धि गर्ने अवसर प्राप्त गर्ने बताइन्।
'हिजो रेडियो प्रसारणको पहुँच सानो क्षेत्रमा सीमिति थियो। तर आज देशको कुनै एउटा कुनाबाट प्रसारण हुने रेडियोहरु इन्टरनेट र मोबाइल एपको माध्यमबाट संसारभरि सुन्न सकिने स्थिति आएको छ,' उनले भनिन्, 'प्रविधिको विकासलाई अवसरको रूपमा प्रयोग गर्दै रेडियो डिजिटलाइजेसन गर्नुपर्ने ध्यान दिनुपर्ने बेला आएको छ। यसमा आवश्यक पर्ने नीति, नियम पुनरावलोकन गरेर सहजीकरण गर्न सरकार तयार छ।'