नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
प्रहरीले पक्राउ गरेका १६ जना प्रतिवादी र फरार रहेका १४ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो।
सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरूद्ध पाँच वटा कसुरमा मुद्दा दर्ता गरेको हो।
राज्यविरूद्धको कसुर, ठगी, संगठित अपराध, कीर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो।
काठमाडौंका ३० वर्षका केशव तुलाधर, ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जन, ३४ वर्षीय हरिभक्त महर्वज, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं फरार छन्।
यस्तै, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पनि फरार रहेको उल्लेख छ।
प्रहरीले यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ।
जसमध्ये उच्च राजनीतिक एवं उच्च कर्मचारी तहका व्यक्तिहरूको संलग्नता देखिएको छ।
पूर्वउपप्रधान एवं नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।
पूर्व कांग्रेस सभासद आङटावा शेर्पा, सुजाता कोइरालका पूर्वपिए केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, बिक्रम भन्ने गोविन्दकुमार चौधरी, रामशरण केसी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई पक्राउ परेका छन्।
सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परी बयानमा अभियुक्तहरूले नाम लिएका व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्न बाटो खुलाएको छ।
अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा आएका छन्।
उनीहरूमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको हो।