रौतहटमा एक वृद्धको हत्या भएको छ।
बिहीबार देवाही गोनाही नगरपालिका-१ करूनिया टोलमा एक वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले जानकारी दिए।
उनका अनुसार बिहान साढे ६ बजे शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
मृतक सोही ठाउँका ७५ वर्षीय शेख तैयब छन्।
उनको टाउकोमा चोट लागेको छ। शवको पोष्टमर्टमको लागि गौर अस्पतालमा पठाइएको छ।
प्रतिनिधि सभा सदस्य प्रभु साहले तैयबको गोली हानेर हत्या भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्। तर प्रहरीले भने उनको कसरी हत्या भएको हो भन्ने नखुलेको बताएको छ।
‘कसरी हत्या भएको भन्ने पोष्टमर्टम रिपोर्टबाट खुल्छ। गोली हानेको भनिएपनि खोकाहरू फेला परेको छैन। गोली हानिएको हो/होइन भन्न सकिने अवस्था छैन,’ डिएसपी यादवले भने।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०, १५:२४:१७