काठमाडौं महानगरपालिकाले खुला मञ्चभित्र वरिपरि वृक्षरोपण गरेको छ।
काठमाडौंलाई हरियाली क्षेत्र बनाउने उद्देश्यले महानगरभित्रका विभिन्न ठाउँमा बोटबिरूवा रोप्न सुरू गरिएको महानगरका हरियाली प्रवद्धन शाखाका प्रमुख नवराज थापाले जानकारी दिए।
उनका अनुसार अहिले सोही कार्यक्रमअन्तर्गत काठमाडौंको खुलामञ्जमा बोटबिरूवा रोपिएको हो।
'केही दिनअघि हामीले खुलामञ्चको चारै कुनाको छेउमा झन्डै सय वटा कपुरका बिरूवा रोपेका छौं,' उनले भने, 'विज्ञको सुझावअनुसार कपुरले अक्सिजन धेरै दिने हुँदा खुला मञ्चमा कपुर रोपेका हौं।'
एक सातादेखि विभिन्न ठाउँमा बोटबिरूवा रोप्ने काम भइरहेको उनले जानकारी दिए।
'हामीले कोटेश्वर, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, तीनकुने लगायत क्षेत्रमा अहिले बिरूवाहरू रोपेका छौं,' उनले भने,'ती ठाउँहरूमा समी, धुपी र कपुरका बिरूवा रोपेका छौं।'
महानगरलाई हरियाली बनाउन वडा तहबाट पनि काम भइरहेको उनले बताए। यस कार्यक्रमका लागि वडाले आफ्नो मातहतका ठाउँहरूमा मरेका बिरूवालाई निकालेर नयाँ बिरूवा रोप्ने काम गरिरहेको उनले बताए।
अहिले विभिन्न संघ सस्थासँग सहकार्यमा काम भइरहेको र अहिलेसम्म एक हजार बिरूवा रोपिसकेको उनले बताए।
तस्बिरहरूः






प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १५:२७:००