पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मौसमविद् समीर श्रेष्ठका अनुसार न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का पानी परिरहेको छ।
उनले भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भूभागबाट नेपाल प्रवेश गर्न लागेको बताए। ' त्यही वायुका कारण सुदूरपश्चिमका भूभागमा एकाध घन्टापछि वर्षा हुने सम्भावना देखिएको छ, ' उनले भने।
काठमाडौंं उपत्यकासम्म भने उक्त वायु आइनपुग्ने उनले जानकारी दिए।
आज दिउँसो पनि पहाडी भू-भागहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना छ।
राती पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। रातिपनि कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०, ०७:०३:५९