काठमाडौंको कपनकी निरा पाण्डेको हत्या अभियोगमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलाशले विश्वकर्मालाई पुर्पक्षमा पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
उनले पाण्डेको हत्या गरेको आरोप थियो।
यता प्रहरीले अर्का एक जनालाई पनि प्रतिवादी बनाएर अदालतमा पेश गरेको थियो। काठमाडौंको तार्केश्वर नगरपालिका-१० हिलेटोलमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गरी बसेका २३ वर्षीय प्रदिप गदाइलीलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो।
विनोद विश्वकर्माले निरा पाण्डेको हत्यापछि लुटेको सिक्री उनले किनेको पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो। उनलाई भने इजलाशले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान कर्त्व ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। वैशाख ७ गते दिउँसो आफ्नै पसलमा बसिरहेको बेलामा निरा पाण्डेको हत्या भएको थियो। उनको शरीरमा पटकपटक चक्कु प्रहार भएको थियो।
प्रहरीले हत्या आरोपित विनोदलाई वैशाख १६ गते झापाको बिर्तामोड नगरपालिका-५ स्थित इलाम स्टेशनमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो।
विनोदले प्रहरी र सरकारी वकिल कार्यालय समक्ष हत्या गरेको पनि स्विकारेका छन्। उनले आर्थिक अवस्था कमजोर बनेको र लुटपाट गर्ने उद्देश्यले कपनको सरस्वती नगरस्थित पसलमा पुगेको बताएका छन्।
लुटपाट गर्नेक्रममा निराले प्रतिकार गरेपछि आफू समातिने डरले नै हत्या गरेको बयानसमेत दिएका छन्। प्रहरीले उनले हत्या गरेको समयमा लगाएको कपडा बरामद गरेको थियो। उनलाई सिसिटिभी फुटेजको आधारमा विश्लेषण गरी पक्राउ गरेको थियो।
विश्वकर्माले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम क्रुर एवं निर्ममतापूर्वक ज्यान मारेकाले जन्मकैदको सजाय माग गरेको थियो। सरकारी वकिलको कार्यालयले विश्वकर्मा र गदाइलीविरूद्ध गत बुधबार अदालतमा अभियोगपत्र दायर गरेको थियो।