रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले आठ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन्।
उक्त रक्तचन्दनको तेल भारतबाट ल्याएको अनुसन्धानमा संलग्न प्रहरीले बताए। यसमा भारतबाट नेपालमै ल्याउने मुख्य व्यक्ति भने भुसाल हुन्।
रक्तचन्दनको तेल महंगा फर्निचरमा लगाउन र कस्मेटिक्स सामग्रीमा पनि प्रयोग हुने ती प्रहरीले बताए।
‘यो तेल नेपालमा पाइन्न। उनीहरूले पनि दक्षिण भारतबाट ल्याएका हुन्। यसरी ल्याएको भन्ने सूचना पाएपछि टोली खटिएर पक्राउ गरेका हौं,’ उनले भने, ‘यो विशेषगरी महंगा फर्निचरलाई बास्ना आउने बनाउन र कस्मेटिक्समा प्रयोग गरेको देखिन्छ।’
उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ।