गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले आफ्नो नोकरी अवधिभर विभिन्न कार्यालयमा रहँदा आफ्नो परिवारको नाममा जग्गा-जमिन खरिद गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो।
उक्त उजुरीमाथि अख्तियारले अनुसन्धान थालेको थियो।
उनी २०४६ जेठ ८ देखि २०७९ असार मसान्तसम्म सेवा अवधिमा थिए।
उनको आय-व्ययको विश्लेषण गर्दा ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको पाइएको प्रवक्ता दाहालले बताए।
उनका अनुसार यादवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा मुद्दा दर्ता गरेको हो।
बिगो रकम घर, जग्गा र बैंक मौज्दात समेतबाट जफत गरी लिन एवं सजायको मागसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।