ललितपुर महानगरपालिकाले ‘सभ्य नागरिक’ नामक वृत्तचित्र बनाएको छ।
बुधबार महानगरपालिकाले पुल्चोकमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले वृत्तचित्र विमोचन गरेका हुन्।
वृत्तचित्रमार्फत् महानगरपालिकाले उपलब्ध गराएको सेवा, सुविधालाई नगरबासीले कसरी पालना गर्ने र सचेत नागरिक कसरी बन्ने भन्नेबारे देखाइएको छ।
आधा घण्टाको वृत्तचित्रमा विभिन्न कथामार्फत् महानगरपालिकाले आम नागरिकलाई सचेत गराउन खोजेको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए।
वृत्तचित्रमार्फत् नगरबासीले फुटपाथमा रोपिएको बोटबिरूवाको संरक्षण, घरको नक्सा पास गर्ने अनि नक्सा पास गरेर मात्र भौतिक संरचना बनाउनुपर्ने नियममा ध्यान दिनुपर्ने जानकारी दिइएको छ।
साथै घर जग्गाको कर भुक्तानी गर्दाको फाइदा, सार्वजनिक क्षेत्रमा धूमपान नगर्न, जथाभावी फोहोर नफाल्न, मठमन्दिरमा पोस्टर तथा विज्ञापन नटाँस्न, ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय समेत देखाइएको छ। साथै, दमकल सेवा वा अन्य सेवाको लागि महानगरपालिकाले हटलाइन नम्बर, १०१, ११३१ मा उपलब्ध गराएको कुरा वृत्तचित्रमा देखाइएको छ।
व्यापारीले फुटपाथ अतिक्रमण गर्दा सवारी दुघर्टना हुने, जथाभावी सवारी साधन पार्किङ नगर्न, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण गर्नुपर्ने र महानगरले नि:शुल्क एम्बुलेन्स सेवा र शव वाहन सेवा उपलब्ध गराएको छ।
वृत्तचित्रमा महानगरको सेवा मात्र नभएर नियमको बारेमा जानकारी दिएको छ।