सशस्त्र प्रहरी बलले थप २० जनालाई गोताखोरको प्रशिक्षण दिएको छ।
चितवनको कुरिन्टारस्थित सशस्त्र प्रहरी बल, नेेपाल विपद व्यवस्थापन तालिम शिक्षालयले २० जनालाई गोताखोरको प्रशिक्षण दिएको हो।
प्रशिक्षणको समापन बिहीबार कुरिन्टारको त्रिशूली नदी किनारमा गरिएको थियो।
सशस्त्रका १९ जना र नेपाल प्रहरीका एक जना जवानले ५ हप्ते तालिम लिएका थिए। नेपाल प्रहरीले भने पहिलो पटक गोताखोरको तालिम लिएको हो।
उनीहरूलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए।
प्रशिक्षणमा बर्दियाका गणेशबहादुर थापा पहिलो भएका छन्।
प्रशिक्षार्थीहरूले शारीरिक सहिष्णुता, डाइभिङ फिजिक्स, डिकम्प्रेसन, डाइभिङ डिजिज र डाइभिङ मेडिसिनको तालिम लिएका हुन्।
यस्तै, डाइभिङ एड्मिनिस्ट्रेसन, एयर डाइभिङ, अन्डर वाटर सर्च टेक्निक, लाइफ सेभिङ टेक्निकलगायतबारे पनि प्रशिक्षण दिइएको थियो।
तालिम सप्तकोशीको नदी, कास्की, पोखरास्थित फेवातालमा गरिएको थियो।
बिहीबार त्रिशूलीमा आयोजित कार्यक्रममा उद्धारको डेमो समेत देखाइएको थियो। जसमा नदीमा बेपत्ता भएकाको गोताखोर, डोरीको प्रयोग, राफ्टिङको प्रयोग लगायत गरी उद्धार गरिएको थियो।
यसरी सशस्त्र प्रहरीमा मात्रै गोताखोरको प्रशिक्षण लिने अहिलेसम्म ७४ जना छन्।
सशस्त्र प्रहरीले सुरूमा सन् २०१५ मा बंगलादेशबाट गोताखोरको तालिम लिएको थियो। त्यतिबेला २५ जना सशस्त्र प्रहरीले सो तालिम प्राप्त गरेका थिए।
यस्तै विपद्का घटनाबाट सशस्त्र प्रहरी बलले अहिलेसम्म ८ सयभन्दा बढीको उद्धार गरेको छ।