सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण प्रक्रिया थालेको छ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले सम्याति इलेक्ट्रो व्हिल्स प्रालिसँग सम्झौता गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरिने र विस्तृत अनुसन्धान गर्ने सहमति भएको पौडेलले बताए।
‘पुरानो मोटरसाइकल उपमहानगरले दिने र सो मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमति भएको छ,’ मेयर पौडेलले भने।
सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरू लागत प्रभावीको आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो। त्यही व्यवस्थाअनुरूप पहिलो चरणमा अनुसन्धान थालेको इटहरी उपमहानगरले जनाएको छ।
उपमहानगरका अनुसार कम्पनीका आदित्य आचार्य, रिसव गड्तौला, अस्तित्व मादेम्बा, निकेश बज्राचार्य लगायतले पेट्रोल गाडीलाइ रूपान्तरण गर्नेछन्। कम्पनी सञ्चालक आदित्य आचार्यले छ महिनाभित्र २ वटा पेट्रोल मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्ने बताए।
उनका अनुसार पुरानो गाडीको इन्जिनको ठाउँमा विद्युतीय मोटर राख्दा कम्तीमा थप १० वर्ष चलाउन सकिन्छ।