झापाको दोमुखास्थित कनकाई नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।
कनकाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय सलीम गुरागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।
अपराह्न ४ बजे तिर कनकाई नहरमा उनी पौडी खेल्न गएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
केही दिनयता झापामा गर्मी बढेको छ। गर्मीका कारण नदी, तलाउ, नहर लगायतमा पौडी खेल्ने क्रम बढेको छ।
गर्मीका कारण झापाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालय बन्द छन्। विद्यालय बन्द भएका कारण अभिभावकलाई छलेर बालबालिका गर्मी छल्न पौडी खेल्न जान थालेको प्रहरीले जनाएको छ।
एक साताअघि मात्र सतासीधामको माथिल्लो झरनामा पौडी खेल्ने क्रममा कमल गाउँपालिकाका एक किशोरको डुबेर ज्यान गएको थियो।