एक साता यता तराईका जिल्लामा तातो हावासहित अत्यधिक गर्मी बढेको छ।
रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लामा ४२ डिग्री हाराहारी तापक्रम भएपछि यहाँको जनजीवन प्रभावित बनेको छ।
बिहानैदेखि घाम चर्केर घर बाहिर निस्किन सक्ने अवस्था छैन। गर्मी बढेपछि गाउँ सहरमा मानिसको हिँडडुल ठप्पजस्तै बनेको छ।
गर्मीका कारण सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छन्। बजारमा किनमेल गर्ने कम छन्।
अत्यधिक गर्मी बढेपछि रूपन्देहीका कतिपय पालिकाहरूले विद्यालयहरूमा बिदा दिने गरेका छन्। गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन्।
तिलोत्तमा नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द गरेको जनाएको छ।
विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भई विद्यालयहरूमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी नगरप्रमुख स्तरीय निर्णयबाट जेठ २२ गतेदेखि असार १७ गतेसम्म नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा गर्ने निर्णय गरेको जनाएको छ।
यस्तै, रूपन्देहीको सैनामैना नगरपालिकाले भने जेठ २२ गतेदेखि २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिएको छ।
नगरपालिकाले सूचना जारी गरी नगरभित्रका सबै विद्यालय २२ गतेदेखि २४ गतेसम्म बन्द हुने जनाएको हो।
विगत केही दिनदेखि अत्यधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा-आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले बर्खे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा गरिएको उल्लेख छ।
पछिल्लो केही दिन यता रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुको अधिकतम तापक्रम ४२ डिग्री हाराहारी पुगेको छ। मौसम विज्ञान महाशाखाका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना नभएकोले तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ।