पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा आइतबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। सत्यवतीस्थित किउरेछेडामा आइतबार साँझ जिप दुर्घटनामा परेको थियो।
रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जांँदै गरेको लु १ च९०२४ नम्बरको जिप आइतबार साँझ सवा ५ बजेतिर दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मृत्यु हुने सबैको पहिचान खुलेको छ भने दुर्घटनामा परी ११ जना घाइते भएका छन्।
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका १ पडेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, ५५ वर्षीया श्यामकला परियार, ४४ वर्षीय विजय पोखरेल, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम छन्।
बालक संयोग गौतम र विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतक पोखरेल सोही वडाका वडा सदस्य समेत हुन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।
घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप सडकदेखि करिब ७० मिटर तल खसेको प्रहरी नायब उपरिक्षक थापाले बताए।
साँघुरो बाटोमा सिट क्षमताभन्दा बढी यात्रु बोकेर हिँडेको जिपले लोड थाम्न नसकी व्याक भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।