नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा भनेको उखान रेकर्डबाट हटेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा चौधरीले महिलाको अपमान हुने खालको उखान बोलेको भन्दै नेकपा एमालेकी सांसद दीपा शर्माको नियमापत्ति गरेकी थिइन्।
त्यसपछि सभामुख देवराज घिमिरेले उक्त उखानलाई रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल गर्नेक्रममा सांसद चौधरीले मल आपूर्तिको विषयमा बोलेका थिए।
‘किसानको मागअनुसार मल आपूर्तिको व्यवस्था मिलाऔं। तर अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशतमात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने स्थिति छ,’ उनले भने, ‘बजेटमा हरित अर्थतन्त्र दिगो विकासको मन्त्र भन्ने नारा त दियौं तर नारा सफल पार्ने जिम्मेवारीमा रहेका कहिल्यै मलसम्म दिन सकेनौं। जब धान रोप्ने बेला सुरू हुन्छ सरकार मलको खोजीमा भौतारिरहन्छ। जब पर्यो राति तब बुढी ताती भन्ने हाम्रो उखान नै छ।’
सांसद शर्माले नियमापत्ति जनाउँदै नेपाली उखानको प्रयोग गरेर महिलाहरूमाथि आक्रमण भएको बताइन्।
‘प्रतिनिधि सभा नियमावलीको २१ को (घ) मा लेखिएको छ- सम्मानित सदनमा कसैलाई अपमानजनक शब्द प्रयोग गर्न हुँदैन। नेपाली उखानलाई लिएर जहिल्यै पनि महिलाहरूमाथि आक्रमण गर्ने गरिन्छ। यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु,’ उनले प्रश्न गरिन्।
त्यसपछि सभामुख घिमिरेले उक्त उखान हटाउन निर्देशन दिएका थिए।