प्रारम्भिक बाल विकासका लागि कर्णाली प्रदेश सभाका सदस्यहरूको सहकार्य समन्वय समूह (इसिडी ककस) मा पदाधिकारी तोकिएको छ।
गत चैत १३ गते पुनर्गठन गरिएको १३ सदस्यीय समन्वय समूहमा पदाधिकारी तोक्न बाँकी थियो।
शुक्रबार बसेको पहिलो बैठकबाट पदाधिकारी तोक्ने र पहिलो चरणमा गर्ने कामहरूको निर्णय गरिएको हो।
इसिडी ककसको संयोजकमा सुरेश अधिकारी चयन भएका छन्। सहसंयोजकमा सांसदहरू मिलन खड्का र गमता विक चयन भएका छन् भने सदस्य सचिवमा सन्तोषी शाही चयन भएका छन्।
सांसदहरू देवेन्द्र शाही, राजीवविक्रम शाह, दक्षिणा शाही, कल्याणी खड्का, तुलसा मल्ल, बलिमाया बुढा, इन्द्रा शाही, जुम्कित लामा र वीरबहादुर शाही समूहको सदस्यमा चयन भएका छन्।
यसअघि पुनर्गठन गरिएको तदर्थ समितिमा रहेका सदस्यहरूबाटै पदाधिकारी चयन गरिएको हो।
प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समन्वय समूहमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता छ। जिल्लागत रूपमा जाजरकोट, रूकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र सल्यानबाट प्रतिनिधित्व गरिएको छ।
बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको समन्वयमा गठन गरिएको उक्त समूहमा विषयगत रूपमा समन्वय गर्न विज्ञहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा राखिएको छ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा सांसद सीता नेपालीको संयोजकत्वमा ११ सदस्यीय समूह थियो।
कर्णाली प्रदेशको प्रारम्भिक बालविकास रणनीति २०७९–०८३ का बारेमा समन्वय समूहलाई जानकारी पनि गराइएको सेभ द चिल्ड्रेन सुर्खेतका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले जानकारी दिए।
बैठकबाट प्रदेश स्तरमा प्रारम्भिक बालविकास समिति गठनका लागि सामाजिक मन्त्रालयमा अनुरोध गर्ने, बालविकास रणनीति कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयलाई पत्राचार गर्ने, प्रारम्भिक बालविकास केन्द्रको प्रदेशस्तरको न्यूनतम मापदण्डसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन अर्को बैठकमा छलफल गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए।