अत्यधिक गर्मीका कारण तराईको जनजीवन अस्तव्यस्त छ।
गर्मीकै कारण कैयौं विद्यालयमा पठनपाठन बन्द गरिएका छन्। असार महिना आउन लाग्दासमेत पानी नपरेपछि देशभरीकै तापक्रम बढेको हो।
पानी नपरेकै कारण किसानको खेती खेतबारीमै सुक्न थालेका छन्।
नेपालमा मौसमको यस्तो अवस्थाको अझै कति समय सामना गर्नुपर्ने हो? यो प्रश्न हामीले मौसमविद् रोजन लामिछानेलाई सोधेका छौं।
उनका अनुसार तापक्रम घट्ने क्रम पूर्वी भूभागहरूबाट सुरू भइसकेको छ। आज बिहान कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो।
पूर्वी भूभागका पानी नपरेका स्थानहरूमा मौसममा आंशिक बदली भएको थियो। तापक्रम हिजो अस्तिको तुलनामा आज पनि तापक्रम केही घट्ने मौसमविद लामिछानेले बताए।
‘पूर्वी भागतिर तापक्रम विस्तारै घट्दै छ। अस्तिको तुलनामा हिजो तापक्रम घटेको र अब केहि दिन क्रमशः तापक्रम घट्दै जाने सम्भावना छ,’ उनले भने।
काठमाडौैमा पनि बिहानेदेखि मौसम बदली भएको अवस्था छ।
उनले अब मनसुन भित्रने समय भएकाले पनि तापक्रम क्रमश घट्ने बताए। जेठ ८ गते भारतको केरला पुगेको मनसुन अहिले आसाम मेघालय र बंगलादेशको भूभागहरूमा पुगेको छ।
नेपालमा पनि मनसुन भित्रन वातावरण अनुकूल बन्दै गइरहेको मौसमविद् लामिछानेको भनाइ छ। ‘विस्तारै मनसुन आउने अनुकूल वातावरण बन्दै गएको देखिन्छ,त्यसले पूर्वी भूभागहरूमा विस्तारै तापक्रम पनि घटाउँदै लगिरहेको छ,’ उनले भने।
पश्चिम तराईका भूभागहरूमा भने तत्काल तापक्रम घट्ने सम्भावना नरहेको लामिछानेले बताए। उनका अनुसार केही दिन तापक्रम यथावत् रहनेछ।
मनसुन भित्रिएपछि क्रमश तापक्रम घट्दै जाने उनले बताए।
मधेश प्रदेशको पश्चिमी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागहरूमा तातो हावा चल्ने सम्भावना कायमै रहेको पनि उनले बताए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ २४ गते तातो हावासम्बन्धी पाँच दिने बुलेटिन जारी गरेको थियो।
त्यसको अवधि पनि आज सकिएको र तातो हावा चल्ने र लु लाग्ने सम्भावना कायमै रहेको अवस्थामा महाशाखाले भोलिसम्म अर्को बुलेटिन निकाल्ने मौसमविद् लामिछानेले बताए।