कैलालीको गेटामा सरकारले बनाउँने निर्णय गरेअनुसार मेडिकल विश्वविद्यालय संचालनमा ल्याउनुपर्ने मागसहित एक सातादेखि आन्दोलन भइरहेको छ।
आन्दोलनका क्रममा आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।


हड्तालका कारण गरिएको बन्दले लामो तथा छोटो दुरीका यातायाता सेवा ठप्प छन्।
कैलाली र कञ्चनपुरका बजारमा पसल तथा होटलहरु पुर्णरुपमा बन्द छन्। यहाँका सरकारी तथा गैर सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन्।
शैक्षिक संस्थाहरु पनि बन्द छन्। बन्दकर्ताहरु ठाउँठाउँ उत्रिएर बन्दको पालना गर्न अनुरोध गरिरहेका छन्। मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरी प्रहरीले केहिवेर नियन्त्रणमा लिएर छाडेका छन्। आमहड्तालमा शान्तिसुरक्षा कायम सुरक्षाकर्मी ठाउँठाउँमा परिचालन गरिएको छ।
पहाडबाट आएर अतरिया पुगेकाहरु यात्रु सवारी साधन नचल्दा अलपत्र परेका छन्। बाजुराबाट कैलालीको पहलमानपुर जान अतरिया पुगेका चक्र थापाले सवारी साधन नचल्दा अलपत्र परेको बताए।
‘हिजो बन्दबारे थाहा पाएनौँ, नत्र त घरबाट भोली हिँडिन्थ्यो, साह्रै गर्मी छ, गाडी नचलेर सडकमा बस्दा गर्मीले गाह्रो भयो,’ उनले सुनाए।


उनीजस्तै सयौँ यात्रुहरु आन्दोलनका कारण गाडी नचल्दा अलपत्र परेका छन्।
गेटा मेडीकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको अगुवाईमा भइरहेको आन्दोलन अन्तरगत गरिएको आमहड्तालसंग सुदूरपश्चिमेलीहरुको भविष्य जोडिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए।
‘यो आन्दोलन सुदूरपश्चिममेलीहरुको एक आवाज हो, हाम्रो घरआँगनमा बनेका अरवौँ संरचनामा हामी मेडीकल विश्वविद्यालय संचालन भएको हेर्न आतुर छौँ, सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुनै पर्छ, नभए यो आवाज रोकिँदैनं,’ उनले भने।
उक्त आन्दोलनमा नेकपा एमालेका नेता भीम रावलले पनि सर्मथन गरेका छन्।यस्तै धनगढी उपमहानगरपलिकाका नगरप्रमुख गोपाल हमालले पनि समर्थन जनाएका छन्।


हमालले आफ्ना समर्थनहरुलाई आन्दोलनमा सहभागी हुन समेत भनेका छन्।
‘गेटामा विश्वविद्यालय स्थापना गर्ने आन्दोलन जायज हो,राज्यसँग बार्गेनिङ गर्ने अधिकार नागरिकसँग सुरक्षित छ। त्यसैले पनि यो आन्दोलन जायज छ,’ उनले भने।
सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि मेडिकल शिक्षाको पढाइ हुने संस्था छैन। त्यसैले पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटो स्थापना गरेर सञ्चालन गर्नुपर्छ भन्ने माग जायज रहेको उनले बताए।
कांग्रेसले र माओवादीले भने विज्ञप्ति नै निकालेर आन्दोलनको बिरोध गरेका छन्। यद्यपि, कतिपय नेताहरुले भने आन्दोलनलाई समर्थन गरिरहेका छन्।


एमालेले भने गेटा मेडिकल विश्वविद्यालय संचालन गर्नुपर्ने माग राखदै छुट्टै आन्दोलन गरिरहेको छ।
यसअघि सडक आन्दोलनका क्रममा चक्काजाम, बिरोध र्याली, सडक बहस लगायतका शान्तिपूर्ण दवावमुलक कार्यक्रम गरिएको थिाये।
यसैबीचमा कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। यस्तै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि सहयोगको मागसहित ज्ञापनपत्र बुझाइएको थियो।
बिहीबार गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको साइनबोर्ड टाँसिएको थियो। यस्तै जेठ २६ गते अत्तरिया बजार बन्द गराइएको थियो।


गेटामा मेडिकल विश्व विद्यालय स्थापना गरिनुपर्ने र यसै बर्षको बजेटले ६ सय शैयाको अस्पताल सञ्चालनमा समेत ल्याउनुपर्ने मागसहित चलिररहेको आन्दोलनका विषयमा संघीय सदनमा समेत आवाज उठ्न थालेको छ।
सुदूरपश्चिमबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने अधिकांस सासंदहरुले सरकारलाई मेडीकल विश्वविद्यालय संचालन गर्न माग गरेका छन्। प्रदेश सभा सासंदहरु पनि पटक पटक संसदमा सोहि कुराको माग गर्ने गरेका छन्।
गेटामा ५ अर्ब ४५ करोड रुपैयाँ बढी लागतमा ४२ वटा भवन बनाइएका छन्। ती भवनका आँगनमा अहिले गाईगोरु चर्छन्।