प्रहरीले जेठ ३२ गते देशव्यापी रूपमा जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउने भएको छ।
आम मानिसमा जनचेतना जगाउन प्रहरीले पहिलोपल्ट जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउन लागेको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
‘अडिओ क्लिप तथा ब्रुर्सरहरू बनाएर देशैभरिको प्रहरी कार्यालयबाट मनाउने तयारी भइरहेको छ,ʼ प्रवक्ता कडायतले भने, ‘शुक्रबार नै जिल्ला तथा इलाका प्रहरीलाई जानकारी दिइसकेका छौं।ʼ
जेष्ठ नागरिकमाथि हुने हिंसा तथा दुर्व्यवहार बढ्न थालेपछि आम मानिसमा जनचेतना जगाउन उक्त दिवस मनाउन लागेको उनले जानकारी दिए।
जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने मुख्य उद्देश्य राखिएको छ।
यसलाई भित्तेपात्रोमा ‘विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ भनेर राखिएको छ।
अन्य देशले पहिलादेखि नै मनाउँदै आए पनि नेपालमा पहिलोपटक मनाउन लागेको हो।
त्यो दिन जिल्लाले तथा इलाका प्रहरी कार्यालयले पदैल तथा गाडीमा गस्ती गर्ने प्रहरीको योजना छ। प्रहरीले सोही स्थानीय तहका प्रतिनिधिहरूसँग सहकार्य गर्न सक्ने प्रवक्ता कडायतले जानकारी दिए।
‘सात वटै प्रदेश र उपत्यकासँग सहकार्य गरेर यो दिवस मनाउने योजना बनाइएको हो,ʼ उनले भने।