काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका चार अभियुक्तको थुनछेक बहस सकेको छ।
पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीको थुनछेक बहस सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
उनीहरूसहित १२ अभियुक्तको बयान सकिएको छ।
हिजोसम्म नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राईको सकिएको थियो।
अब पूर्वगृहमन्त्री खाण, शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, शमसेर मियाँ, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको बहस बाँकी छ।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।
फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।