प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी ज्यान गुमाउने आठै जना दाङका रहेका छन्।
सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडकघुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबैजना दाङका हुन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास छन्। सरिता आफ्ना छोराहरूसँग नारायणपुर बजारमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। उनका श्रीमान विदेशमा छन्।
दुर्घटनामा परी गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको डिएसपी खड्काले बताए। गोविन्द शाह नारायणपुरस्थित पूर्णिमा फर्निचर उद्योगमा काम गर्थे।
शाहको परिवार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए।
कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमालको यसअघि नै सनाखत भइसकेको थियो। अर्का एक जना मृतक बालकको भने पहिचान खुल्न बाँकी छ।
स्वर्गद्वारी मन्दिरको दर्शन गरी प्युठानबाट दाङ फर्किँदै गरेको लु १ च ६३४५ नम्वरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीमा दुर्घटना भएको थियो।
कार करिब ४५ मिटर तल खसेको थियो।
डिएसपी खड्काका अनुसार कार माथिल्लो सडकबाट खसेर तल्लो कालोपत्रे भइरहेको सडकमा बजारिँदा मानवीय क्षति भएको हो।
‘माथिल्लो रोडबाट खसेको कार झन्डै ४५ मिटर तल रोडमा आएर बजारिएको छ,’ डिएसपी खड्काले भने, ‘जसले गर्दा ठूलो मानवीय क्षति हुन पुग्यो।’
तीव्र गतिको कार घुम्तिमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।