गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेका मचिन्द्र राईका लागि वरदान सावित भएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका मचिन्द्र वृद्धावस्थामा दुवै आँखाले देख्न सक्ने भएका छन्। दाहिने आँखामा मोतियाबिन्दुको समस्या भएपछि मचिन्द्रलाई घर भित्र र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो।
विराटनगर आँखा अस्पताल, रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति संघ, आँखा तथा कान उपचार केन्द्र, भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्न सक्ने भएका छन्।
टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडाबाट आएका एक हजार तीन सय जना बिरामीको जाँचपछि उपचार गरिएको हो।
भोजपुरका ग्रामीण क्षेत्रहरूमा अन्य रोगको तुलनामा आँखा रोगीको संख्या धैरे देखिने गरेकाले गाउँस्तरीय शिविरलाई पहिलो प्राथमिकतामा राखिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए।
आर्थिक अवस्था र विविध कारणले वर्षौंदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालन भएको शिविरले लाभ पुर्याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।
अध्यक्ष बस्नेतले भने, 'शिविरले हाम्रा वृद्ध आमाबुबालाई पुनः स्पष्ट देख्ने बनाएको छ। योभन्दा खुसीको कुरा के हुन्छ।'
शल्यक्रियापछि आँखा देख्न सक्ने भएकामा धेरै खुसी लागेको टेम्कैमैयुङ गाउँपालिका–४ का ८६ वर्षीय प्रेमबहादुर राई र ७९ वर्षीया शुभद्रा बुढाथोकीले बताए।
'हामी वृद्धावृद्धालाई दोस्रो जन्म पाएजत्तिकै भएको छ। गाउँमै उपचार पाएपछि दुवै आँखाले स्पष्ट देख्न सक्ने भएका छौं,' उनीहरूले भने।
विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा युगान्तिका खत्रीको भनाइ छ।
'भोजपुरका ग्रामीण विपन्न र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौं। ग्रामीण भेगका वर्षौंदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ,' उनले भनिन्।
आँखाका रोगीको संख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले शल्यक्रियासहितका शिविर सबै क्षेत्रमा क्रमिक रूपमा सञ्चालन गरिँदै लगिने नेपाल नेत्रज्योति संघ भोजपुरले जनाएको छ।