काठमाडौं महानगरपालिकाले दुइटा विद्यालयमा लगाएको ताला खोलेको छ।
मंगलबार विद्यार्थी संगठनले ठूलो भर्याङस्थित संस्कृति इन्टरनेशनल स्कूल र बाँसबारीको रहेको युलियन्स स्कुलमा लगाएको ताला नगर प्रहरीले खोलेको महानगरपालिकाले जनाएको छ।
यस्तै विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न महानगरका मेयर बालेन शाहले अनुरोध गरेका छन्।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौं,' उनले भने, ‘विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौं। चाहे त्यो सरकारी होस् वा निजी।’
यस्तै, विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएको उनले बताए।
यसअघि बालेनले शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका थिए। त्यस्तै विद्यालयमा राजनीतिक कार्य नगर्न समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो।
अहिले महानगरले लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनू/ गराए/ नगराए जस्ता विषयमा नियमित अनुगमन र नियमन गर्ने काम गरिरहेको छ।