काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६प २१२१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर छन्।
दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घाइतेको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। घाइते काठमाडौं महानगरपालिका ५ बस्ने ४० वर्षीय कुमार थापा मगर छन्। उनी बोल्न सक्ने अवस्थामा छन्।
टिपर चालक ओखलढुंगाका ३० वर्षीय हिरा गुरूङ छन्। उनलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान प्रहरी वृत्त बानेश्वरले अघि बढाएको छ।