झापामा सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको टोलीले निरीक्षण गर्नेक्रममा सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका छन्।
मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर नमप्रभाव राईसहित तीन जनाको टोलीले प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका हुन्।
सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट भएको हो।
मेचीनगर नगरपालिका-४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि इन्स्पेक्टर राईले सीमा नाकामा गडबड भइरहेको भन्दै कुटपिट गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम कार्कीले जानकारी दिए।
निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन्। इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।
सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए। सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।
‘प्रहरीलाई कुटिरहेको देखेपछि स्थानीयहरू पनि उर्लिए। स्थानीयले पनि प्रतिकार गर्दै इन्स्पेक्टरको टोलीमाथि आक्रमण गरेका थिए। पछि नेपाल प्रहरी आएर घटनाबारे बुझाएपछि साम्य भएको थियो,’ उनले भने,‘दुई सय बढी मान्छे भेला भएका थिए। निरीक्षणका लागि आएको टोलीले गाडी नै पल्टाइदिएका थिए।’
घटना बाहिरिएपछि सशस्त्र प्रहरीले पनि छानबिन गर्न समिति बनाएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बाहिनीका एसपी बिक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति बनेको छ।
‘हिजोको घटनामा छानबिन गरी दुबै पक्षमा कसको कति गल्ती भएको छ भन्ने कुरा पत्ता लगाएर विभागीय कारबाही गर्ने निर्णय भएको छ,’ डिएसपी थापाले भने।