करेन्ट लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो ३ बजे बकैया गाउँपालिका- ८ तल्लोबिरेफाटस्थित मकैबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोठडाँडा बस्ने वर्ष ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो छन्।
बारीमा खाल्डो खनिरहेका बेला लत्रिएको बिजुलीको नांगो तारमा छोइएपछि उनीहरूलाई करेन्ट लागेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।