दाङमा ट्याक्टर दुर्घटनापछि चालक बनेर हिरासतमा बस्न गएका व्यक्ति र ट्याक्टर धनी धरौटीमा छुटेका छन्।
मंगलबार जिल्ला अदालत दाङले तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका २४ बर्षीय रेशम चौधरीलाई एक लाख ५० हजार र ट्रयाक्टर धनी तुलसीपुर-१४ गोठुवाका २८ बर्षीय दिनेश वलीलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सक्कली चालक तुलसीपुर – १४ गोठ्वाका १९ बर्षीय किरण चौधरी अझै फरार छन्।
किरणलाई बिचौलियाले मिलमतोमा भगाएको र उनी भारतमा लुकिछिपी बसेको प्रहरीले जानकारी दिएको छ।
गत वैशाख २९ गते दाङको तुलसीपुर उपमहानगरपालिका-१४ मा किरणले चलाएको ट्याक्टरले किचेर १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो।
आफूसँग सवारी चालक अनुमपति पत्र नभएका कारण सवारी ज्यान मुद्दा चल्ने भएपछि किरणले विचौलियासँगको मिलमतोमा रेशम चौधरीले नक्कली सवारी चालक बनाएर पठाएका थिए।
सक्कली चालकलाई भगाउन र नक्कली चालक खडा गरि सजाय भुक्तानका लागि प्रहरी हिरासतमा पठाएको अभियोग खेपेका तुलसीपुर – १८ वशन्त वली फरार रहेको डिएसपी मल्लले बताए।
उनी वडाध्यक्ष माधव वलीका भाइ हुन। सक्कली चालक किरण र वशन्त वलीका बिरुद्धमा पक्राउ अनुमति प्राप्त भइ सकेको डिएसपी मल्लले सेतोपाटीलाई बताए।
फरारको सूचीमा रहेका चौधरी र वलीको खोजी कार्य जारी रहेको मल्लले बताए।
सम्बन्धित समाचारः ‘बिचौलियाको चलखेल’का कारण बिन्तिरामले २ दिनपछि बल्ल देख्न पाए छोराको शव