नाबालिकाको चरित्रहत्या हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-४ का १८ वर्षीय विनोद सुनारलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।
अनलाइनको कुराकानी सम्पादन गरी अश्लिल तस्बिर र भिडिओमा जोडी आफन्तलाई पठाएर चरित्रहत्या गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा मंगलबार पक्राउ गरेको हो।
पीडित नाबालिकाले लकडाउनको समयमा खोलेको सामाजिक सञ्चालमा फ्रेन्ड रिक्वेस्ट आएपछि स्वीकारेकी थिइन्। तर कुराकानी गर्नेक्रममा आरोपीले पीडितलाई भिडिओ कल गर्न दबाब दिइ गोप्य अंग समेत देखाउने गरेको जाहेरीमा बताएकी छन्।
युवकले भनेको नमाने बुवा लगायत परिवारलाई बताइदिने भन्दै धम्की समेत दिएको आरोप छ।
उक्त युवकलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा पक्राउ गरी ब्युरोले अनुसन्धान गरिरहेको छ।
काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।