राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा नर्सिङ पढाइ सुरू भएको छ।
प्रतिष्ठान स्थापनाको पाँच वर्ष पछि पहिलो पटक नर्सिङको पढाइ सुरू भएको बिहीबार प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।
बिएससी नर्सिङ तर्फ २० र बिएनएस तर्फ २० जना विद्यार्थी छन्। दुवै विधामा १५ जना सरकारी छात्रबृत्ति प्राप्त गरेका र पाँच जना पेइङमा अध्ययन गर्नेहरू छन्। बिएससी नर्सिङ चार वर्ष र बिएनएस तीन वर्षको कोर्ष हुने गर्छ।
आउने वर्षदेखि एमडीजिपी, एमडी र एमएस कक्षा संचालनको लागि तयारी गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानका सिनेट सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले प्रतिष्ठानले नर्सिङ शिक्षाको कार्यक्रम संचालन गर्नु आफैमा खुसीको कुरा रहेको भन्दै प्रतिष्ठानले उत्पादन गरेका जनशक्ति विश्व बजारमा सहजै प्रतिष्पर्धा गर्न सक्ने खाले हुनुपर्ने बताए।
शर्माले अब जति हुन्छ छिटो एमबिबिएसका कक्षाहरू संचालन गर्न पहल गर्ने तथा वातावरण मिलाउन तर्फ लाग्न आग्रह गरेका थिए। एमबिबिएस कक्षा संचालका लागि आवस्यक पुर्वाधार तयार पार्नेदेखि जग्गा व्यवस्थापनका सवालमा आवस्यक समन्वय र सहजीकरण गर्न आफु तयार रहेको उनले बताए।
घोराही उपमहानगरपालिकाका मेयर तथा सिनेट सदस्य नरुलाल चौधरीले प्रतिष्ठानलाई स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अब्बल क्षेत्र बनाउन आफ्नो निरन्तर प्रयास रहने बताए।
चौधरीले नयाँ भर्ना भएका विद्यार्थीको उज्वल भविष्यको लागि आवश्यक पठनपाठन र बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए।
‘केही ढिलै भएपनि प्रतिष्ठानले शैक्षिक कार्यक्रमको एउटा भर्याङमा पाइला राखिसकेको छ ,’ उनले भने, ‘अब चाँडै एमबिबिएस, एमडी, एमडीजिपी लगायतका शैक्षिक कार्यक्रम संचालन हुने विश्वास पैदा भएको छ।’
विश्वविद्यालयका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले सबै थोक औषधिले मात्र नहुने भएकाले बिरामीलाई छिटो निको बनाउन नर्सिङ स्टाफको भूमिका अपरिहार्य रहने भन्दै आफ्नो सिकाइ उपलब्धी त्यही अनुरुप हासिल गर्न विद्यार्थीलाई आग्रह गरेका थिए।
एमबिबिएस कक्षा संचालन गर्न भने अझै पुर्वाधारहरू तयार भइनसकेको अवस्थाबारे उनले बताएका थिए।
हाल प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार चार सय बेडको सात तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको हुँदा त्यो निर्माण भइसकेपछि मात्र एमबिबिएस कक्षा संचालन हुन सक्ने उनले बताएका थिए।