काठमाडौंको गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्नेक्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान सवा १० बजे चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
ना.५ ख ५७७७ नम्बरको मालबाहक ट्रकलाई प्र.३-०२-००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भई थानकोट बस्ने २२ वर्षीय सरद राउत र पछाडि सवार मकवानपुर घर भई चन्द्रागिरि बस्ने २० वर्षीया सुमित्रा मोक्तान घाइते भएका थिए।
उनीहरूको उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा सुमित्राको सवा ११ बजे मृत्यु भएको एसपी रिजालले बताए। चालक सरदको घुँडामा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।
घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। ट्रक र मोटरसाइकललाई प्रहरी वृत्त थानकोटमा राखिएको छ।