काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्ने व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ।
बिहीबार मेयर बालेन शाहको अध्यक्षतामा बसेको बैठकले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार उक्त समितिले बसपार्कबाट छुट्ने गाडीको व्यवस्थापन गर्छ।
'टिकट बुकिङ कार्यालय स्थापना गर्ने र यात्रुहरू बीचमा चढाउने र ओराल्ने उपयुक्त ठाउँ समेत कार्यदलले नै तोक्ने बैठकमा निर्णय भएको छ,' उनले भने।
यस्तै जथाभावी भएका टिकट काउन्टर पनि हटाइने छ।
केही समयअगाडि महानगरले पार्किङ, टिकट बुकिङ काउन्टर, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न भनेको थियो।
'काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध छ,' महानगरले जारी गरेको सूचनामा भनिएको थियो, 'बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन।'
त्यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ।
'उल्लिखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ। सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,' महानगरले भनेको थियो।