यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नेपालगञ्जमा पहिलोपटक गौरव यात्रा मनाएका छन्।
पश्चिम तारा नेपालको आयोजना र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपाल, भिजिवल ईम्प्याक्ट र युवा नेपालको सहयोगमा समुदायले गौरव यात्रा मनाएका हुन्।
समुदायका युवाहरूले त्रिभुवन चोक, न्युरोड, सेतु विक चोक हुँदै धम्बोझीसम्म पुगेर सप्तरंगी झण्डा फर्फराएका थिए। रंगीविरंगी पोशाक लगाएर युवाहरूले गौरव यात्रा मनाएका हुन्।
गौरव यात्रा कार्यक्रममा युवाहरूले एक अर्कालाई शुभकामना आदानप्रदान गरे।
अंग्रेजी क्यालेन्डरको जुन महिना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विशेष महिना हो। त्यही भएर उनीहरू गर्वसाथ यो महिनालाई ‘प्राइड मन्थ’ रूपमा मनाउँछन्।
नेपाली यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले यो महिनालाई उत्सव मनाउन थालेको सन् २०१९ बाट मात्र हो। नेपालबाहिर सन् १९७०, जुन २८ बाट यो पर्व मनाउन सुरू गरिएको थियो।




