ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरि डाँगीका अनुसार बसमा २४ जना सवार थिए।
६ जनाको अवस्था सामान्य रहेको र घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको उनले बताए।
बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर डाँगीले बताए।
प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ।
'बस करिब १० मिटर घिस्रिएको छ, दुर्घटना कसरी भयो भन्ने अनुसन्धानमै छौं,' इन्सपेक्टर डाँगीले भने।
घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको पनि उनले जानकारी दिए।