दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को पहाडी विकट बस्तिमा झाडापखालाका बिरामी बढेका छन्।
सुनपुर टोलका अध्यक्ष वीरबहादुर मण्डारीले आफ्नो टोलमा मात्रै १५ जना जतिमा झाडा पखालाको समस्या देखिएको सेतोपाटीलाई बताए।
पानीका कारण झाडा पखालाका बिरामी बढेको अनुमान गरिएको छ। स्थानीयले काठेखोला मुहानको पानी पिउँदै आएका छन्।
प्वननगर खानेपानी संस्था अन्तरगत तीन चार वटा मुहानको पानी स्थानीयले उपभोग गर्दै आएको भएपनि अधिकास मुहानहरू सुक्न थालेको तथा दुसित भएको हुँदा त्यसैबाट झाडा पखाला फैलिएको आशंका गरिएको छ।
‘ज्यादा गर्मी बढेर हो वा पानी फोहर भएर हो,’ भण्डारीले भने, ‘यहाँका मानिसहरू धमाधम बिरामी पर्न थालेका छन्।’
तुलसीपुर – १ का वडाध्यक्ष होमकान्त सापकोटालेले स्थानीयमा झाडा पखाला, वान्ता, आँउ जस्ता समस्या देखिएपनि शनिबार नै पानी परीक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा पठाइएको सेतोपाटीलाई बताए।
‘म हिजो आफै दुई तीन वटा मुहानहरूमा पुगेर नमुना शंकलन गरी परीक्षणका लागि स्वास्थ्य महाशाखामा पठाएको छु,’ वडाध्यक्ष सापकोटोले भने, ‘आज बेलुका सम्म रिपोर्ट आइ पुग्छ भन्ने छ।’
रिपोर्ट आएपछि बल्ल स्थानीयमा देखिएको समस्याको कारण निदान गर्न सहज हुने उनले बताए।
‘यस्तो गर्मी छ र मुहानपनि सुक्दै गएका छन्,’ उनले भने, ‘दुसित पानीको असरले हो वा अन्य कारणले नुमना परीक्षणपछि भन्न सहज हुने छ।’
उनले केही बिरामीको उपचार स्थानीय मेडिकल र केहीको तुलसीपुर बजारका अस्पतालहरूमा भइरहेको छ।