धादिङमा बन्दुकसहित चार जना शिकारी पक्राउ परेका छन्।
ज्वालामुखी गाउँपालिका-४ धौखोला दोभानटारबाट चार जनालाई शनिबार राति सवा ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।
सोही ठाउँका ६० वर्षीय पदम सिलवाल, ३० वर्षीय राजेन्द्र शाक्य, २८ वर्षीय आशिष गुरूङ र १९ वर्षीय सुमन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई जंगली जनावर शिकार गरेको आरोपमा पक्राउ गरेको हो। सुमन यसअघि पनि हातहतियार खरखजना र ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ परिसकेका छन्।
दोभानटारमा गंगा गुरूङले सञ्चालन गरेको खाजा पसलमा केही शिकारीहरूले जंगली मृत मारेर हतियारसहित खाजा खाँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको प्रहरीले खाजा पसललाई घेरामा हालेर चार जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले एक किलो ३५० ग्रामको जंगली मृतको छाला, एक किलो ९२५ ग्राम हड्डीसहितको तयारी आलो मासु र तीन वटा भरूवा बन्दुक बरामद गरेको छ।
धादिङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ। उनीहरूमाथि वन्यजन्तु शिकार सम्बन्धी कसूरमा डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान समेत हुने एसपी मिश्रले बताए।